आज:  | Thu, 07, May, 2026

“गाउँछ गीत” को निर्णायकमा लोकप्रिय गायक खाती पनि अनुबन्धन

Avatar photo दिशा निर्देश २३ बैशाख २०८३, बुधबार १८:५७ मा प्रकाशित (२१ घण्टा अघि)

काठमाडौं। नेपालको मौलिक सांगीतिक रियालिटी शो “गाउँछ गीत” ले निर्णायक मण्डलमा लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक तथा सर्जक अमृत खातीलाई अनुबन्धन गरेको छ । प्रतिभाको खोजी र मौलिकताको सम्मान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको कार्यक्रममा खातीको आगमनले लोक दोहोरीको महत्व अझै बढ्ने विश्वास गरिएको छ ।

लोक दोहोरी संगीतमा छुट्टै पहिचान बनाएका खातीका दर्जनौँ सुपरहिट गीतहरूले नेपाली श्रोता–दर्शकको मन जितेका छन्। उनी यसअघि ‘लोक दोहोरी स्टार’मा निर्णायक संयोजकको भूमिका निर्वाह गरिसकेका छन् भने विभिन्न सांगीतिक प्रतियोगिताहरूमा निर्णायकको अनुभव समेत बटुलेका छन्।

कार्यक्रमका अन्य निर्णायकहरूमा विश्व भारती विश्वविद्यालय, शान्ति निकेतनबाट दीक्षित शास्त्रीय तथा सुगम संगीतकी वरिष्ठ गायिका सङ्गीता राना प्रधान, संगीतमा विद्यावारिधि गर्दै गरेका गायक तथा संगीतकार थानेश्वर गौतम र आधुनिकदेखि पाश्र्व गायनसम्म लोकप्रियता कमाएकी रियालिटी शो बाटै उदाएकी गायिका साहिमा श्रेष्ठ रहेका छन्।

कार्यक्रमका परिकल्पनाकार रोजी शर्माकाअनसार, “गाउँछ गीत” केवल प्रतिस्पर्धात्मक कार्यक्रम मात्र नभई नेपाली मौलिक संगीत जोगाउने अभियान पनि हो। अनुभवी निर्णायकहरूको सहभागिताले नयाँ प्रतिभाहरूलाई मार्गदर्शन गर्ने र उनीहरूको क्षमता पहिचान गर्न सहयोग पुग्ने उनको विश्वास छ।

एच.एस. साइना क्रियशनले निर्माण गर्ने उक्त कार्यक्रम प्राइम एचडी टिभीमा प्रसारण हुनेछ। यस शोको सञ्चालन कमेडियन सीता न्यौपाने र अनुप भण्डारीले गर्नेछन्।

कार्यक्रममार्फत देशभरका प्रतिभाशाली गायक–गायिकाहरूलाई राष्ट्रिय स्तरमा आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ। आयोजकका अनुसार हालसम्म डिजिटल अडिसन सम्पन्न भइसकेको छ भने भौतिक (फिजिकल) अडिसन छिट्टै आयोजना गरिनेछ।


सम्बन्धित खबरहरु