आज:  | Thu, 07, May, 2026

सुक्खा र जलसंकटका बीच विपक्षी दलहरूको पहल : मधेस सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै चुरे संरक्षणदेखि राहतसम्मको माग

Avatar photo दिशा निर्देश १७ श्रावण २०८२, शुक्रबार १९:३६ मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज, १६ साउन — मधेस प्रदेशमा बढ्दो सुक्खा र पानीको अभावले जनजीवन प्रभावित भइरहेका बेला प्रमुख प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आज प्रमुख प्रतिपक्षी दलका सांसदहरूको टोलीले मुख्यमन्त्री सरोकारवालालाई भेटी औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो।

ध्यानाकर्षणपत्रमा सिँचाइको तत्काल प्रबन्ध, कृषकहरूलाई राहतस्वरूप ऋण छुट, मलखादको न्यायोचित वितरण र खानेपानी अभावको तत्काल समाधानका लागि सरकारलाई पहल गर्न आग्रह गरिएको छ।

विपक्षी सांसदहरूले चुरे दोहन रोक्न, जलाशय निर्माण गर्न, सतही र भूमिगत सिँचाइ योजनालाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएका छन्। उनीहरूले भनेका छन्, “जलस्रोत संरक्षणको दीर्घकालीन योजना विना मधेसको अस्तित्व संकटमा पर्न सक्छ।

ध्यानाकर्षणपत्रमा जलाधार व्यवस्थापनलाई ‘अविलम्ब लागू गर्नुपर्ने अनिवार्य उपाय’ भन्दै सरकारको मौनताप्रति आपत्ति जनाइएको छ।

यसबाहेक, कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानका नाममा गरिएको सूचना प्रक्रियागत रूपमा झन्झटिलो र विभेदपूर्ण भएको गुनासो गर्दै सबै पालिका समेटिने गरी पारदर्शी कार्यविधि लागू गर्न माग गरिएको छ।

नदीनाला, कुलो, पैनीहरूको जीर्णोद्धार गरी सतही सिँचाइ प्रणालीलाई व्यवस्थित बनाउने, कृषि उत्पादनलाई संरक्षण गर्ने तथा नागरिकको आधारभूत आवश्यकता सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने विपक्षी दलहरूको माग छ।

पूर्वमुख्यमन्त्री यादवले यदि सरकारले तत्काल राहत र समाधानका उपाय अघि नबढाए “जनताको पक्षमा सडकमा उत्रन बाध्य हुनेछौँ” भन्दै चेतावनी दिएका छन्।

ध्यानाकर्षणपत्र बुझाउने टोलीमा जसपाका साथै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेश सांसदहरूको पनि सहभागिता थियो।


सम्बन्धित खबरहरु