आज:  | Sat, 09, May, 2026

सडकमा जथाभावी फोहोर फाल्नेलाई वीरगञ्ज महानगरले तिरायाे जरिवाना

Avatar photo दिशा निर्देश २१ पुष २०७९, बिहीबार १७:५५ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – जथाभावी फोहोर फाल्नेलाई वीरगञ्ज महानगरपालिकाले कारबाही अभियान अघि बढाएको छ ।

महानगरलाई सफा, सुन्दर बनाउनका लागि जथाभावी फोहोर फाल्ने बानी हटाउन कारबाही स्वरुप महानगरले जरिवाना गर्न लागेको हो ।

महानगरले बिहीबार २ वटा पसललाई कारबाही स्वरुप जरीवाना तिराएको छ । घण्टाघरको विनोद मोबाइल हबले सडक पेटीमा जथाभावी फोहोर फालेको भेटिएपछि जरिवाना गरिएको महानगरका सरसफाई शाखा प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए ।

यस्तै विर्तामा रहेको संस्कार मेडिकोलाई पनि जरिवाना तिराईको छ । पहिलो पटकलाई ५ सय रुपैयाँ जरिवाना तिराइएको र पुनः फोहोर फ्याँकेको भेटिए थप जरिवाना गरिने मियाँले बताए ।

महानगरले नगर हरियाली र सफा बनाई राख्न अहिले सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने अभियान नै चलाईरहेको छ ।

वीरगञ्जलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितामा मात्रै संभव रहेकाले यसलाई अटेर गर्दै फोहोर गर्नेलाई कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

सडकमा जथाभावी फोहोर गरेको भेटिए जो कोहीलाई पनि कारबाही गरिने गरी संयन्त्र परिचालन गरिएको छ ।

महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।


सम्बन्धित खबरहरु