आज:  | Wed, 13, May, 2026

युएन वुमेनकी उपकार्यकारी निर्देशक नेपाल भ्रमणमा, लैङ्गिक समानता र महिला नेतृत्वमा जोड

Avatar photo दिशा निर्देश ३० बैशाख २०८३, बुधबार २०:०२ मा प्रकाशित (५ घण्टा अघि)

काठमाडौं। महिला सशक्तिकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था युएन वुमनकी उपकार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी सहायक महासचिव न्यारद्जायी गुम्बोनज्वान्डा आफ्नो सप्ताहव्यापी नेपाल भ्रमणको लागि काठमाडौं आइपुग्नुभएको छ। नेपाल भ्रमणका क्रममा वहाँले नेपाल सरकारका उच्चस्तरीय पदाधिकारी, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधि तथा विभिन्न साझेदार संस्थासँग भेटवार्ता गर्नुहुनेछ।

आफ्नो नेपाल बसाइ्मा गुम्बोनज्वान्डाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी तथा परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा नेपालमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा समावेशी विकासका क्षेत्रमा भइरहेको प्रगति र चुनौतीबारे छलफल भएको युएन वुमन नेपालले जारी गरेको मिडिया दस्तावेजहरूमा उल्लेख गरिएको छ।

वहाँले नेपालमा युएन वुमन समेत संयुक्त राष्ट्रसंघका विभिन्न निकायले सञ्चालन गर्दै आएका कार्यक्रम र प्राथमिकताबारे जानकारी दिँदै महिलाको आर्थिक सशक्तीकरण, महिला तथा बालबालिकामाथि हुने हिंसाको अन्त्य, महिलाको नेतृत्व विकास, राजनीतिक सहभागिता अभिवृद्धि तथा शान्ति र सुरक्षामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभएको छ।

साथै, लैङ्गिक समानतामैत्री नीति तथा कानुन निर्माण र कार्यान्वयनमा सहयोगलाई अझ सुदृढ बनाउँदै लाने पनि वहाँको धारणा छ।

आफ्ना भेटाघाटमा गुम्बोनज्वान्डाले विशेषगरी सीमान्तकृत महिला, किशोरी तथा बालबालिकाका लागि अवसर विस्तार, आर्थिक पहुँच, नेतृत्व विकास र सुरक्षासम्बन्धी पहललाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने बताउनुभयो।

आफू पनि फरक क्षमता भएको र सीमान्तकृत मानिने समुदायबाट आएको उदाहरण दिंदै वहाँले बालविवाह अन्त्य, लैङ्गिक हिंसा रोकथाम, महिला अधिकार प्रवर्द्धन तथा सामाजिक न्यायका सवालमा बहुपक्षीय सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

नेपाल भ्रमणका क्रममा वहाँले संयुक्त राष्ट्रसंघीय निकाय, विकास साझेदार तथा महिला अधिकारका क्षेत्रमा काम गर्ने सरोकारवालासँग पनि भेटवार्ता गर्नुहुनेछ।

युएन वुमन नेपालले सामाजिक सञ्जालमार्फत गुम्बोनज्वान्डाको भ्रमणले नेपालमा लैङ्गिक समानता र महिला नेतृत्वसम्बन्धी सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित खबरहरु