आज:  | Sat, 09, May, 2026

‘आइडिया एक्सिलेन्स अवार्ड २०२६’ आयोजना हुँदै

Avatar photo दिशा निर्देश २३ बैशाख २०८३, बुधबार १३:५४ मा प्रकाशित (२ दिन अघि)

ललितपुर। नेपालको आन्तरिक सजावट (इण्टेरियर डिजाइन) क्षेत्रको प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले ‘आइडिया एक्सिलेन्स अवार्ड २०२६’ आयोजना हुने भएको छ। कार्यक्रम आगामी जेठ ८ (मे २२, २०२६) मा पुल्चोकस्थित द प्लाजामा आयोजना गरिनेछ ।

ईन्टेरियर डिजाइनर्स एसोसिएसन (आईडिया) नेपालको आयोजना र मिडिया स्पेस सोलुसन्सको सहआयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

इण्टेरियर डिजाइनर तथा कार्यक्रम संयोजक सुशोभित रन्जितकारले अवार्ड कार्यक्रमलाई नेपालकै आन्तरिक डिजाइन क्षेत्रमा समर्पित एक प्रतिष्ठित मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार यसले देशभरका पेशागत इण्टेरियर डिजाइनर तथा विभिन्न कलेज तथा इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

यसअघि सफलतापूर्वक सम्पन्न भएको ‘आइडिया एक्सिलेन्स अवार्ड २०२४’ को निरन्तरतास्वरूप यस वर्षको कार्यक्रम अझ भव्य र प्रभावकारी रूपमा आयोजना गरिने तयारी गरिएको उनको भनाई छ। कार्यक्रममा ‘डिजाइनर अफ द इयर’, ‘हेरिटेज डिजाइनर अवार्ड’ र ‘सस्टेनेबल डिजाइनर अवार्ड’ सहित विभिन्न विधामा उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरिनेछ।

त्यसैगरी, प्रोफेसनल, इनोभेटिभ, इमर्जिङ तथा थिम अफ द इयर अन्तर्गतका विभिन्न उपविधामा पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन आईडिया नेपालका सक्रिय सदस्यहरू मात्र योग्य हुनेछन्। इच्छुक सदस्यहरूले यही बैशाख २६ गते (मे ९, २०२६) भित्र आवेदन पेश गर्नुपर्नेछ । साथै, स्पोन्सरशिप, साझेदारी तथा स्टल व्यवस्थापनका लागि इच्छुक पक्षहरूलाई आयोजकसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।


सम्बन्धित खबरहरु