अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक रहेको एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएपछि दुई देशबीचको तनाव झनै चर्किएको छ। बीबीसीले सार्वजनिक गरेको रिपोर्टअनुसार यस कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सरकारमाथि थप दबाब सिर्जना गर्ने अमेरिकी रणनीति रूपमा हेरिएको छ।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला नजिकैको समुद्री क्षेत्रमा प्रतिबन्ध उल्लङ्घन गर्दै तेल ढुवानी गरिरहेको दाबी गरिएको उक्त ट्यांकर कब्जा गरिएको पुष्टि गरे। बीबीसीले प्रसारण गरेको भिडियोमा अमेरिकी सैनिकहरू हेलिकप्टरबाट डोरी प्रयोग गरी ट्यांकरमा ओर्लँदै गरेको दृश्य देखिन्छ। अमेरिकाको दाबी अनुसार ट्यांकर भेनेजुएला र इरानबीचको प्रतिबन्धित तेल कारोबारमा संलग्न थियो।
भेनेजुएलाको सरकारले भने अमेरिकी कारबाहीलाई “अन्तर्राष्ट्रिय समुद्री डकैती” को संज्ञा दिएको छ। राष्ट्रपति मदुरोले केही दिनअघि नै आफ्नो देशलाई “तेल उपनिवेश” बनाउन नदिने बताएका थिए।
घटनापछि वैश्विक बजारमा तेल आपूर्तिमाथि अनिश्चितता बढेपछि तेलको मूल्य केही बिन्दुले उक्लेकेको ऊर्जा विश्लेषकहरूले टिप्पणी गरेका छन्। अमेरिकी कारबाहीमा २ हेलिकप्टर, १० कोस्ट गार्ड सदस्य, १० वटा आधुनिक डुङ्गा तथा विशेष फोर्सहरू सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच भेनेजुएलाको सरकारले जारी गरेको विज्ञप्तिमा अमेरिकाको कदमलाई गम्भीर अन्तर्राष्ट्रिय अपराध बताइएको छ। अमेरिकाले हालै करिब ९ हजार सैनिक क्यारेबियन समुद्री क्षेत्रमा तैनाथ गरेको छ। त्यसमध्ये विश्वकै सबैभन्दा ठूलो युद्धपोतसमेत भेनेजुएलाको नजिक परिचालित रहेको बताइँदै, यसले सम्भावित सैन्य कारबाहीको आशंका बढाएको विश्लेषण गरिएको छ।
