आज:  | Wed, 13, May, 2026

प्याब्सन पर्साद्वारम टि २० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिताकाे आयाेजना

Avatar photo दिशा निर्देश ८ माघ २०८२, बुधबार १८:५७ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले प्याब्सन पर्सा स्तरीय टि–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्याब्सन पर्साले बुधबार वीरगञ्जस्थित टीबी साह क्रिकेट मैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। सम्मेलनमा प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले क्रिकेट प्रतियोगितामा प्याब्सन पर्सासँग आवद्ध ४० वटा विद्यालय सहभागी हुने जानकारी दिए।

उनका अनुसार क्रिकेट प्रतियोगिता माघ ८ गते बिहीबारदेखि वीरगञ्जको टीबी साह क्रिकेट मैदानमा सुरु हुनेछ। प्रतियोगिताका सबै खेल १५ ओभरका हुनेछन् र दैनिक ३ खेल सञ्चालन गरिनेछ। क्रिकेटतर्फ कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन्। क्रिकेट प्रतियोगिताकाे मुख्य प्रयाेजन नेपाल मेडिसिटी हस्पिटलले गरेकाे छ ।

यस्तै, जुनियर फुटबल प्रतियोगिता माघ १० गतेदेखि मधेश प्रदेश प्रहरी कार्यालय, वीरगञ्जको खेल मैदानमा आयोजना हुनेछ। फुटबलतर्फ २१ वटा विद्यालय सहभागी हुनेछन्। जुनियर फुटबलमा ४ फिट १० इन्चसम्म उचाइ भएका विद्यार्थीलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ। फुटबल प्रतियोगिताको प्रायोजन राज होजियारीले गरेको हो।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्न र विद्यार्थीलाई खेलकुदतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। यस्ता प्रतियोगिताले प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने उनको विश्वास छ।

प्रतियोगितामा क्रिकेटतर्फ विजेतालाई नगद १५ हजार, दोस्रो हुने टिमलाई नगद १० हजार, र तेस्रोलाई नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै प्रत्येक खेलका प्लेयर अफ द म्याच तथा अन्य विधागत उत्कृष्ट खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिने सचिव सङ्ग्रौलाले जानकारी दिए।

फुटबलतर्फ विजेताले नगद ८ हजार, दोस्रोले ६ हजार र तेस्रोले ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
उद्घाटन सत्रलाई आकर्षक बनाउन ३० वटा विद्यालयको मार्चपास पनि समावेश गरिएको छ। मार्चपासमा विभिन्न भाषा, संस्कृति र भेषभूषा झल्कने आयोजकको भनाइ छ।

माघ ८ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सहभागी खेलाडीको २५ हजार रुपैयाँ बराबरको बीमा समेत गरिएको छ। प्रतियोगिता आयोजना गर्न करिब १२ लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

प्याब्सन पर्साले विद्यार्थीलाई शैक्षिक गतिविधिसँगै खेलकुदमा पनि निरन्तर सक्रिय गराउने उद्देश्यले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित खबरहरु