वीरगञ्जको बसपार्क नजिक गुणस्तरहीन घ्यु उत्पादन गर्ने उद्योगमा छापामारी गरी प्रहरीले संचालकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ बसपार्क नजिकै आफ्नै घरमा संचालन गरेको श्री गणपती रिप्याकिङ उद्योग र गणपती पूजा सामग्र रिप्याकिङ उद्योग छापामारी गर्दा गुणस्तरहीन घ्यु फेला परेकाले संचालक ४४ वर्षीय राजेश कुमार रायलाई पक्राउ गरिएको हो ।
वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वमा खटेको टोलीले उद्योगबाट २० किलो तौलमा प्याकिङ गरिएका गुणस्तरहीन डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको छ ।
बरामद गुणस्तरहीन घ्यससहित पक्राउ परेका रायलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्ज र जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
