आज:  | Thu, 07, May, 2026

अव्यवस्थित तार हटाउने महानगरको अभियानमा जुटे सेवा प्रदायक

Avatar photo दिशा निर्देश २३ मंसिर २०७९, शुक्रबार १८:०३ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ ।

महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहितको टोलीले शुक्रबारबाट अव्यवस्थित तार हटाउन थालेको हो ।

जथाभावी टांगिएका तारका कारण नगरको सौन्दर्यता विग्रिनुका साथै दुर्घटनाको सम्भावना समेत देखिएकाले व्यवस्थित गर्न महानगरले पटक पटक प्रयास गरेको थियो ।

मंगलबार मात्रै सेवा प्रदायकसँग छलफल गरेको महानगरले शुक्रबारबाट भने सेवाप्रदायकलाई सँगै लिएर तार काट्न थालेको हो ।

महानगरका मेयर राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन सेवा प्रदायकलाई आग्रह गरेपछि शुक्रबारबाट हटाउन सुरु गरिएको हो ।

शुक्रबार पहिलो दिन अव्यवस्थित तार हटाउन इन्टरनेट सेवा प्रदायक संस्थाहरु वर्ल्ड लिंक र भायोनेटका प्रतिनिधि सहभागि रहेको महानगर आइटी शाखाका बृजेश प्रधानले जानकारी दिए ।

‘विद्युत तथा टेलिकमका पोलहरुमा गुजुल्टिएर राखिएका तार काट्ने अभियानमा सबै सेवाप्रदायकलाई हामीले बोलाएका थियौँ,’ प्रधानले भने, ‘आज पहिलो दिन २ वटा सेवा प्रदायकका प्रतिनिधि मात्रै सहभागि भए ।’

अभियानका बारेमा सबैलाई जानकारी गराएको भन्दै उनले कोही सहभागि नभए पनि तार व्यवस्थित गराउने महानगरको अभियान अब नरोकिने बताए ।


सम्बन्धित खबरहरु