आज:  | Sat, 09, May, 2026

हुस्सुका कारण हुने दुर्घटना रोक्न रौतहटमा रिफ्लेक्ट स्टिकर अभियान

Avatar photo दिशा निर्देश ११ पुष २०८२, शुक्रबार ०९:२४ मा प्रकाशित (४ महिना अघि)

रौतहट । रातिको समयमा हुस्सु तथा कुहिरोका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रौतहटका विभिन्न सडक खण्डमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट तयार भई मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट स्वीकृत सडक दुर्घटना विरुद्ध युवा–२०८२ कार्ययोजना अन्तर्गत उक्त अभियान सञ्चालन गरिएको हो ।

जिल्ला रौतहट अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धनसर पुलदेखि बाग्मती पुलसम्म तथा चन्द्रनिगाहपुर–गौर सडक खण्डको बाल्चनपुर क्षेत्रसम्म सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट प्राप्त विभिन्न रङका करिब ३५० फिट बराबरका रिफ्लेक्ट स्टिकर पुल, कल्भर्ट र साइनबोर्डलगायत स्थानमा टाँसिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त सहकार्यमा उक्त कार्य सम्पन्न गरिएको हो ।

इन्स्पेक्टर मगरका अनुसार रातिको समयमा उज्यालो दृश्यता कम हुने स्थानमा रिफ्लेक्ट स्टिकर टाँसिँदा सवारी चालकलाई मार्ग पहिचान गर्न सहज हुने र दुर्घटनाको जोखिम न्यून हुने अपेक्षा गरिएको छ ।

पछिल्लो केही दिनदेखि रौतहटसहित सिंगो मधेश प्रदेशमा बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र चिसो बढ्ने क्रम जारी रहँदा सवारी साधनको आवागमनमा कठिनाइ भइरहेको छ । यस्तो अवस्थामा रिफ्लेक्ट स्टिकर अभियानले सडक सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।


सम्बन्धित खबरहरु