आज:  | Fri, 29, May, 2026

हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा अनिश्चितकालीन आन्दोलनको घोषणा

दिशा निर्देश May 8, 2025 मा प्रकाशित (१ साल अघि)

वैशाख २५ काठमाडौं । हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राजावादी समूहहरूले अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले जेठ १५ गतेदेखि आन्दोलन सुरु गर्ने जनाएका छन्।

राजावादी नेताहरूले जारी गरेको १४ बुँदे संयुक्त वक्तव्यमा भनिएको छ, “यो आन्दोलन हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापित नभएसम्म टुंगिने छैन।”
संयुक्त आन्दोलनको नेतृत्व नवराज सुवेदीको संयोजकत्वमा हुनेछ।

संयुक्त आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, साथै अन्य राजावादी घटकहरूको पनि सक्रिय सहभागिता रहने बताइएको छ।
संयोजक सुवेदीका अनुसार देशभर जनप्रदर्शन, जुलुस र धर्नालगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ। विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने जनाइएको छ।

संयुक्त वक्तव्यअनुसार आन्दोलन शान्तिपूर्ण हुनेछ र यसले भद्र अवज्ञा तथा सत्याग्रहको स्वरूप लिनेछ। वक्तव्यमा ‘परिवर्तनकारी र परम्परागत शक्तिबीच समन्वय गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना’ गर्ने भनिएको छ।

त्यस्तै सनातन हिन्दू राष्ट्रको पुनःस्थापना, सर्वधर्म समभावधार्मिक स्वतन्त्रता, साथै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अधिकार सम्पन्न सरकारसहित दुई तहको शासन प्रणालीको मागसमेत वक्तव्यमा उठाइएको छ।

रविन्द्र मिश्रसहित पक्राउ परेकाहरूको रिहाइको माग

तीनकुने घटनाका क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेताहरूको तत्काल रिहाइको माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्


सम्बन्धित खबरहरु