वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुरमा दुई वटा भवनको शिलान्यास गरिएको छ। वडाअध्यक्ष राधाकृष्ण रौनियारको पहलमा ल्याइएको बजेटबाट श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुर र परवानीपुर स्वास्थ्य चौकीमा दुई÷दुई कोठे भवन निर्माणको शिलान्यास गरिएको हो।
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुरमा मधेश प्रदेश शिक्षा मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा निर्माण हुने दुई कोठे विद्यालय भवनको शिलान्यास वडाअध्यक्ष रौनियारले गरेका हुन्।
शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिहर साह, प्रधानाध्यापक रामेश्वर साह, शिक्षकहरू, स्थानीय समाजसेवी भोज महतो, कृष्ण कुशवाहा, गणेश कुशवाहा, हृदयनारायण कुशवाहा लगायतको उपस्थिति रहेको थियो। ताराचन्द मण्डल नेतृत्वको उपभोक्ता समितिले भवन निर्माणको काम गरीरहेको छ ।
त्यसैगरी, परवानीपुर स्वास्थ्य चौकीमा पनि दुई कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ। मधेश प्रदेश स्वास्थ्य मन्त्रालयबाट २४ लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको उक्त भवनको बजेट पनि वडाअध्यक्ष रौनियारकै पहलमा ल्याइएको हो।
स्वास्थ्य चौकी भवन शिलान्यास कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख रामेश्वर राम, कर्मचारी अर्विन्द रौनियार, आकृति पटेल, जवाहिर महतो लगायतको सहभागिता रहेको स्थानीय समिर आलमले जानकारी दिए।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष राधाकृष्ण रौनियारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाइएको बताए। उनले स्थानीय नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि वडाको समग्र विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
