किव । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी राष्ट्रहरूले सुरक्षा ग्यारेन्टी दिन सके ६० देखि ९० दिनभित्र राष्ट्रपतिको चुनाव गर्न आफू तयार रहेको बताएका छन्।
बुधवार पत्रकारहरूसँगको कुराकानीमा उनले लगातार भइरहे का मिसाइल तथा ड्रोन आक्रमणका बीच सुरक्षित वातावरण सुनिश्चित नभएसम्म निर्वाचन सम्भव नभएको स्पष्ट पारे।
सन् २०१९ मा निर्वाचित जेलेन्स्कीको कार्यकाल अघिल्लो वर्ष नै सकिएको भए पनि २०२२ देखि रूससँगको युद्धका कारण युक्रेनमा निर्वाचन रोकिएको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले युद्धलाई बहाना बनाएर चुनाव टारिरहेको बताएका थिए भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीलाई ‘वैध राष्ट्रपति होइन’ भन्दै उहाँसँग वार्ता नगर्ने बताउँदै आएका छन्।
जेलेन्स्कीले युद्धकालीन (मार्शल ल) स्थितिमै लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्न कानुनी संशोधनका लागि संसदलाई तयार गराउने प्रयास भइरहेको जानकारी पनि दिए।
‘मिसाइल आक्रमण भइरहँदा कसरी र कहाँ मतदान हुन्छ? पहिले सुरक्षा ग्यारेन्टी चाहिन्छ,’ उनले भने।
उनका अनुसार अमेरिकासहित युरोपेली साझेदारहरूसँग मिलेर अद्यावधिक शान्ति प्रस्ताव विकास भइरहेको छ।
युक्रेनमा अहिले सबैभन्दा ठूलो चुनौती युद्धकै बीचमा कस्तो सुरक्षा व्यवस्था र मतदान प्रणाली मार्फत निर्वाचन सम्भव हुन्छ भन्ने रहेको उनले बताए।
संगै, जेलेन्स्कीले रूसले कब्जा गरेको क्राइमिया फिर्ता ल्याउने शक्ति अहिले युक्रेनसँग पर्याप्त नरहेको स्वीकारे।
पत्रकारको प्रश्नमा उनले भने, ‘आजको दिनमा हाम्रो शक्ति पर्याप्त छैन।’
रूसले २०१४ मा क्राइमिया कब्जा गरेयता दुवैबीच निरन्तर तनाव जारी छ। पछिल्लो शान्ति पहलमा सहमति जुट्न सकेको छैन।
यता, रूसले डोनबास क्षेत्रमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ भने युक्रेन र युरोपेली मुलुकहरूले त्यसलाई अस्वीकार गरेका छन्। पुटिनले आवश्यक परे आक्रमणमार्फत पनि डोनबास नियन्त्रणमा लिने चेतावनी दिएका छन्।
