वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले सीमावर्ती क्षेत्रमा अवैध कारोबार रोकथामका लागि गरिरहेको कडाइ र नियमित गस्ती प्रभावकारी देखिएको छ। पछिल्लो एक साताभित्र मात्रै वीरगञ्ज र आसपासका क्षेत्रमा गरी १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा अन्तर्गतका विभिन्न सीमा सुरक्षा पोस्टबाट खटिएको टोलीले भारत–नेपाल सीमाबाट गैरकानुनी रूपमा ओसारपसार हुँदै गरेका सामग्रीहरू बरामद गरेको हो।
वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानहरूबाट सशस्त्र प्रहरी टोलीले ८ लाख ३७ हजार १ सय २० रुपैयाँ बराबरका सामान बरामद गरेको जानकारी सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले दिएका छन्। बरामद गरिएका सामग्रीमा किराना सामान, तयारी कपडा, मोबाइल तथा मोटर पार्ट्स, फलफूल र मदिरा लगायत रहेका छन्। ती सामानसँगै प्रयोग भएका दुई थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
यस्तै, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको अर्को टोलीले अलौ तथा कोनिया क्षेत्रबाट १ लाख १८ हजार २ सय रुपैयाँ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको छ भने बी.ओ.पी. प्रसौनीभाठा र बी.ओ.पी. सिर्सिया टोलीले १ लाख २८ हजार ८ सय ७० रुपैयाँ मूल्यका सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएका छन्।
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालका अनुसार सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप सशक्त बनाइएको छ।
