सिरहा । खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानलाई सहयोग गर्न गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख रुपैयाँको लागतमा डिप बोरिङ निर्माण गरिएको छ। यससँगै १० हजार लिटर क्षमताको पानी ट्याङ्की पनि तयार गरिएको छ।
कमला सिँचाइ कार्यालयका अनुसार उक्त बोरिङमार्फत करिब ७० बिघा खेतमा सिँचाइ सुविधा पुग्नेछ। बुधबारदेखि सुरु गरिएको सिँचाइ सेवाको उद्घाटन पूर्वमन्त्री लीलानाथ श्रेष्ठले गरेका हुन्।
उद्घाटन कार्यक्रममा गोलबजार नगर प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरभित्र छवटा डिप बोरिङ खनिएको जानकारी दिँदै किसानलाई थप सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
