आज:  | Fri, 29, May, 2026

सिद्धार्थ मावि प्र.अ.मेहतामाथि गैरकानुनी शुल्क असुलीको आरोप

दिशा निर्देश August 28, 2025 मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहतामाथि विद्यार्थी र अभिभावकसँग अनावश्यक शुल्क असुलेको गुनासो बढेपछि विवाद चर्किएको छ। वडाध्यक्ष महबुब इलाही अंसारीका अनुसार पटक–पटक उजुरी आएपछि विद्यालय प्रशासनलाई मौखिक र लिखित रूपमा शुल्क नलिन आग्रह गरिएको थियो। तर विद्यालयले निरन्तर शुल्क असुली गर्दै आएको आरोप छ।

अंसारीले सामुदायिक विद्यालयमा विद्यार्थीबाट कुनै किसिमको शुल्क नलिनुपर्ने सरकारको नीति र महानगरपालिकाको निर्णय उल्लङ्घन भएको स्पष्ट पारे। उनका अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीबाट प्रतिविद्यार्थी ६–७ हजार रुपैयाँसम्म उठाइँदै आएको छ। यसअघि पनि विद्यालयमा अतिरिक्त शुल्क असुलीबारे विवाद उठ्दै आएको र अभिभावकले असन्तुष्टि व्यक्त गर्दै आएको तथ्य उनले प्रस्तुत गरे।

पत्रकार सम्मेलनमा वडाध्यक्ष अंसारीले प्रधानाध्यापक मेहताले आफूमाथि लगाएका आरोपहरू कपोकल्पित, निराधार र भ्रामक भएको बताए। “यदि मेरो विरुद्ध लगाइएको आरोप प्रमाणित हुन्छ भने कानुन बमोजिम सजाय भोग्न तयार छु,” उनले स्पष्ट पारे। विद्यालय प्रशासनको गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै अंसारीले “जो चोर, उसैको ठूलो स्वर” टिप्पणी गरे।

अंसारीले मेहतामाथि गैरकानुनी शुल्क असुली, विद्यालयको भाडा रकम हिनामिना गर्ने, वातावरण अस्तव्यस्त बनाउनेलगायतका गतिविधिमा संलग्न भएको आरोप लगाए। उनले प्र.अ. मेहताको विगतदेखि नै विवादास्पद गतिविधि रहेको उल्लेख गर्दै अन्य विद्यालयहरूमा पनि भ्रष्टाचारमा संलग्न भएको दाबी गरे।

यसअघि पनि विद्यालयमा अतिरिक्त शुल्क असुलीबारे विवाद उठेको अभिभावकहरूको गुनासो रहेको छ। तर विद्यालय प्रशासनले लागत र सुविधा व्यवस्थापनका लागि शुल्क लिएको दाबी गर्दै आएको छ। प्रधानाध्यापक विनोद मेहताले भने आफूले कुनै पनि गैरकानुनी तरिकाले रकम उठाएको छैन भन्दै अंसारीले सार्वजनिक रूपमा लगाएका आरोपहरूमा सत्यता नरहेको प्रष्ट पारे।

सामाजिक सञ्जालमा आफूले मेहतामाथि ‘वीरगञ्जकै सबैभन्दा भ्रष्ट प्रधानाध्यापक’ भन्ने टिप्पणी गरेको स्वीकार गर्दै अंसारीले भने, “उनको रवैयाका कारण आवेगमा आएर त्यो कमेन्ट गरेको हुँ।” उनले शुक्रबार बस्ने विद्यालय बोर्ड बैठकमा यस विषयलाई औपचारिक एजेन्डा बनाएर छलफल गर्ने र आवश्यक निर्णय गर्ने तयारी गरिएको बताए।


सम्बन्धित खबरहरु