आज:  | Fri, 29, May, 2026

साहब आलमको ह्याट्रिकमा काठमाडौं गोर्खाज प्ले अफमा

दिशा निर्देश December 4, 2025 मा प्रकाशित (५ महिना अघि)

काठमाडौं गोर्खाज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौं लिगको शीर्ष दुईमा पुगेको हो।
जितमा साहब आलमको ह्याट्रिक सहित ६ विकेटको उत्कृष्ट प्रदर्शन, बेन चार्ल्सवर्थको ६४ रन र भीम सार्कीको ५५ रन निर्णायक बने।

पोखराले १६६ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा १५२ रनमै अल आउट भयो। सुरुवातैदेखि विकेट पतन झन् बढ्दै जाँदा टोली दबाबमा परेको थियो। एडम रोसिङ्टन ५ रनमै आउट भए। २८ रनमा दोस्रो विकेट र ५५ रनमा चौथो विकेट गुमाउँदा पोखराको पारी संकटमा थियो।

धनन्जय र ऋषि धवनले पाँचौँ विकेटका लागि ७६ रनको साझेदारी गर्दै आश जगाए। तर १७ औँ ओभरमा लक्सम ३० रनमा आउट भए। त्यसपछि १८ औँ ओभरमा किरण ठगुन्ना ५ रनमा आउट भए। ऋषिले ३१ बलमा ५४ रन बनाए पनि अन्तिम ओभरमा पहिलो बलमै मिलिन्दले क्याच गरेपछि पोखराको आश टुट्यो। दोस्रो बलमा विपिन गोल्डेन डक आउट भए र तेस्रो बलमा साहबले आकाश चन्दलाई आउट गर्दै ह्याट्रिक पूरा गरे। यो एनपिएलको पहिलो ह्याट्रिक हो।

साहबले ४ ओभरमा २५ रन दिएर ६ विकेट लिए। करण केसी र सनि पटेलले २/२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ८ विकेटमा १६५ रनमा रोकियो। सुरुवात कमजोर थियो। आकाश त्रिपाठी गोल्डेन डकमा आउट भए। १० ओभरमा ३ विकेटमा ५६ रन मात्र थियो।
चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए। अन्तिमतिर भीम सार्कीले १९ बलमा ५५ रन प्रहार गर्दै टोलीलाई सम्मानजनक योगफलमा पुर्‍याए। दुवैबीच ७६ रनको साझेदारी स्ट्यान्डआउट रह्यो।

पोखरा तर्फ लक्समले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ४ विकेट लिए।

जितपछि काठमाडौंले ७ खेलमा १० अंक जोडेर प्ले अफमा स्थान बनायो। पोखरा ६ खेलमा ४ अंकसहित कठिन अवस्थामा पुगेको छ।
आजको दोस्रो खेल चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।


सम्बन्धित खबरहरु