काठमाडौं — जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन यसअघि जारी गरेको आदेश खारेज गरेको छ।
न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञा सम्बन्धी निवेदन खारेज गरेको हो। सो आदेशसँगै न्यायाधीश पिताम्बर शर्माको इजलासबाट जारी भएको समाचार हटाउने आदेश पनि स्वतः खारेज भएको छ।
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको विषयमा समाचार प्रकाशित गरेका बिजमाण्डु र नेपालखबर अनलाइनले अदालतमा जवाफ दिँदै समाचार हटाउने आदेशको प्रतिवाद गरेका थिए। त्यसैको सुनुवाइपछिको निष्कर्ष स्वरूप अदालतले निषेधाज्ञाको माग खारेज गरेको हो।
यस निर्णयले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा न्यायिक सहमति पुष्टि गरेको छ।
