वैशाख २५, काठमाडौं —भारत–पाकिस्तानबीचको पछिल्लो तनावले नेपालमा पनि असर पार्न सक्ने भन्दै सांसदहरूले संसदमा चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले नेपालले सावधानी अपनाउनुपर्ने, नेपालीहरूको सुरक्षाका लागि कूटनीतिक पहल गर्नुपर्ने, र भारत–पाकिस्तान युद्धप्रति स्पष्ट सरकारी धारणा आवश्यक रहेको बताएका छन्।
सांसद रामहरि खतिवडाले भारतले हाल आतङ्कवादविरुद्ध लडाइँ गरिरहेको भन्दै नेपालले आतङ्कवादविरुद्धको लडाइँमा साथ दिनुपर्ने धारणा व्यक्त गरे।
त्यस्तै, सांसद मुक्ता कुमारी यादवले भारत–पाकिस्तानबीचको गोलाबारीमा त्यहाँ रहेका नेपालीहरू प्रभावित हुन सक्ने भन्दै सरकारले तत्काल ध्यान दिनुपर्ने बताइन्। उनले विदेशस्थित नेपालीहरूको सुरक्षाको लागि कूटनीतिक पहल गर्न आग्रह गरिन्।
सांसद मीना तामाङले युद्ध चर्किएमा गोरखा सेनालाई पहिलो चरणमै प्रयोग नगरियोस् भन्ने विषयमा सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताइन्।
माओवादी केन्द्रका सांसद राजन दाहालले भने भारत–पाकिस्तान तनावको विषयमा सरकारको आधिकारिक धारणा अझै नआएकोप्रति असन्तुष्टि जनाए। उनले यो विषयमा चाँडो धारणा सार्वजनिक गर्न सरकारलाई आग्रह गरे।
