आज:  | Fri, 29, May, 2026

श्रीवास्तव र साह अख्तियारको फन्दामा

दिशा निर्देश June 20, 2025 मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका दुई स्थानीय तहका सरकारी अधिकारीलाई भ्रष्टाचारको आरोपमा नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र पोखरिया नगरपालिकाका जिन्सी तथा इन्धन शाखा प्रमुख एवं नायब सुब्बा सन्दीप साह रहेका छन्।

श्रीवास्तव पोखरिया नगरपालिकाका पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत हुन्।

भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा काठमाडौंस्थित अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले शुक्रबार (असार ६ गते) वीरगञ्जबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
श्रीवास्तवलाई वीरगञ्ज–१५ स्थित प्रतिमा चोकबाट, र साहलाई वीरगञ्ज–३ प्रगतिनगरबाट पक्राउ गरिएको आयोगले जनाएको छ।

श्रीवास्तवमाथि विभिन्न योजना स्वीकृति, खरिद आदेश, ठेक्का प्रक्रिया तथा कर्मचारी नियुक्ति प्रक्रियामा अनियमितता गरेको आरोप छ।
त्यस्तै, सन्दीप साहले विभिन्न आयोजना तथा सामग्री खरिद प्रक्रियामा ठेकेदार र सेवाग्राहीहरूसँग अनाधिकृत आर्थिक लेनदेन गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धान थालिएको हो।

पक्राउ परेकासँगै अख्तियारले उनीहरूबाट चार थान मोबाइल फोन समेत बरामद गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल दुवै जनामाथि प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको र आवश्यक प्रमाण संकलनको प्रक्रिया जारी रहेको जनाएको छ। दोष पुष्टि भए उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिनेछ।


सम्बन्धित खबरहरु