काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्णजन्माष्टमी पर्व आज (शनिबार) देशभर पूजा–आराधना गरी मनाइँदैछ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
पर्वका अवसरमा पाटन मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरलगायत देशभरका मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। यस दिन विशेष गरी पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने, व्रत बस्ने र रातभर जाग्राम गर्ने परम्परा छ।
शास्त्रीय मान्यताअनुसार अन्याय र अत्याचारबाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्य र सत्कर्मका बाटोमा चल्न मानव समुदायलाई प्रेरित गरेका थिए।
