वीरगञ्ज । शिक्षा मन्त्री महावीर पुनलाई मन्त्रालयमै खाने–बस्ने व्यवस्था मिलाइएसँगै उहाँले हिजोदेखि केशरमहलस्थित शिक्षा मन्त्रालयमै बस्न सुरु गर्नुभएको छ । मन्त्री पुनको कार्यकक्षसँगै रहेका कोठा खाली गरी त्यहाँ सुत्ने, बस्ने र भान्साको सुविधा उपलब्ध गराइएको हो ।
गत भदौ २४ गते सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा भएको आगजनी र तोडफोडपछि मन्त्रालयलाई अस्थायी रूपमा केशरमहलमा सारिएको हो । अहिले केशर पुस्तकालयसँगैको भवनको पहिलो तलामा मन्त्री पुनको कार्यकक्ष स्थापना गरिएको छ भने सोही कक्षसँग जोडिएको कोठा उहाँको आवासका रूपमा प्रयोगमा ल्याइएको छ ।
हिजो कर्मचारीसँगको ब्रिफिङ र आगन्तुकसँग भेटपछि मन्त्री पुनले तीनबुँदे निर्देशनसमेत सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको निर्देशनअनुसार हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी मिलाइनेछ । यस्तै, विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशित गर्नुपर्ने आदेश दिनुभयो ।
समयमै परीक्षाफल ननिकाले विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनी पनि उहाँले दिनुभएको छ । साथै, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर हाताभित्र रहेको ठूलो क्षेत्र सफा गरी आकर्षक बगैँचा र फुटपाथ निर्माण गरेर विश्वविद्यालयलाई सुन्दर बनाउने योजना अघि सारिएको छ ।
