आज:  | Fri, 29, May, 2026

वीरगञ्ज २१ मा विपन्न परिवारका ३०० विद्यार्थीलाई पोशाक वितरण

दिशा निर्देश July 27, 2025 मा प्रकाशित (१0 महिना अघि)

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई बुधबार एक कार्यक्रमकाबीच विद्यालय पोशाक वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव मण्डलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष राधाकृष्ण रौनियार रहेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष रौनियारले सामुदायिक विद्यालयको स्तर वृद्धि तथा विद्यार्थीलाई प्रोत्साहित गर्न निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने बताए । उनले विद्यालयलाई पोशाक सहयोग गरेकोमा बिटानिया नेपाल करखाना परिवारप्रति आभार प्रकट गरे ।

उनले भने, “विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आत्मबल बढाउन पोशाक वितरण जस्तो सहयोग अत्यन्त प्रेरणादायी छ । यस्ता सहयोगले समुदायमा शिक्षा प्रतिको भरोसा बढाउँछ ।”

विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत गरीब र विपन्न परिवारका करिब ३०० विद्यार्थीलाई पोशाक वितरण गरिएको हो, जसमा २५० जना छात्र र ५० जना छात्रा रहेका छन् ।

उक्त सहयोग वीरगञ्जस्थित बिटानिया नेपाल करखानाले प्रदान गरेको हो । संस्थाको तर्फबाट कार्यक्रममा करखानाका महाप्रबन्धक (जीएम) सनदिप बञ्चल, मानव संसाधन प्रमुख विनोद साह कानु, प्रतिनिधि रिसभ चौधरी, मुकेश कुमार सिंह र प्रकाश झा लगायतको सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक रामेश्वर साहले विद्यालयमा आवश्यक पूर्वाधार तथा शिक्षण गुणस्तर सुधारमा यस्ता सहकार्यहरू महत्वपूर्ण हुने बताए । उनले आगामी दिनमा समेत यस्तो सहयोग निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, समुदायका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबरहरु