वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा (एमाले) परित्याग गर्दै जेन–जी पुस्ताको आन्दोलन र सुशासनको अभियानप्रति समर्थन जनाएका छन् ।
बुधबार उनले आफ्नो जन्मदिनको अवसर पारेर नेकपा (एमाले) को साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् । परागले भने, ‘जेन–जी पुस्ताको परिवर्तनको चाहना साँचो र औचित्यपूर्ण छ, त्यसैले पुरानो सोचमा अड्किएको पार्टीमा बसिरहन कुनै अर्थ छैन,’ भन्दै अब आफू एमालेसँग सम्बन्धविहीन भएको घोषणा गरे ।
यसअघि गत असोज ६ मा उनले वीरगञ्ज महानगरका उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । पार्टी नेतृत्वले सुधारका संकेत नदेखाएको र जनआकांक्षाको विरोध गर्ने प्रवृत्तिबाट आफू विमुख भएको बताउँदै उनले एमाले परित्यागको निर्णय गरेको बताए ।
यता, नेकपा (एमाले) पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले भने वडाध्यक्ष परागले औपचारिक रूपमा लिखित राजीनामा नदिएको बताएका छन् । उनले भने, ‘राजीनामा सार्वजनिक रूपमा सुनिएको छ, तर पार्टीमा आधिकारिक पत्र आएको छैन ।
