वीरगञ्ज । गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।
प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन्, जबकि गत आर्थिक वर्षको यही अवधिमा आठ अर्ब ८४ करोड रुपैयाँ मूल्यका वस्तु मात्र निर्यात भएका थिए ।
निर्यात वृद्धिमा मुख्य योगदान प्रशोधित भटमास तेल र जुसको निर्यातले दिएको देखिन्छ ।
चालू आर्थिक वर्षको तीन महिनामा मात्र १३ अर्ब ९८ करोड रुपैयाँ बराबरका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात गरिएको छ । त्यस्तै, दुई अर्ब सात करोड रुपैयाँ मूल्य बराबरका दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात गरिएको प्रमुख भन्सार कार्यालयले जनाएको छ ।
