वीरगञ्ज । वीरगञ्ज कारागारमा क्षमताभन्दा धेरै कैदी तथा थुनुवा राखिएको हुँदा व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ ।
एक हजार कैदी रखने क्षमता भएको कारागारमा हाल एक हजार ३१० भन्दा बढी कैदी र थुनुवा रहेका छन्। जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार कैदी–थुनुवा सङ्ख्या बढ्दा स्वास्थ्य, बसोबास र सरसफाइमा समस्या देखिएको छ।
वि.सं. २०२९ सालदेखि सञ्चालनमा आएको वीरगञ्ज कारागार जीर्ण संरचना भएको र खुला ठाउँको अभावले कैदी–थुनुवा व्यवस्थापनमा थप कठिनाइ भएको भुसालले बताए। उनका अनुसार तोकिएको क्षमताअनुसार कैदी राख्न पाएको भए व्यवस्थापन सहज हुने थियो।
यद्यपि, जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापन विभागले वीरगञ्जको चिनी मिल क्षेत्रमा करिब १८ बिघा क्षेत्रफलमा नयाँ कारागार निर्माण गर्ने योजना बनाए पनि अझै मूर्तरूप लिन सकेको छैन।
हाल वीरगञ्ज कारागारमा ३२९ जना कैदी र ९७९ जना थुनुवा छन्। तीमध्ये पाँच जना महिला कैदी, ४२ जना महिला थुनुवा र छ वर्षमुनिका दुई बालिका आश्रित रहेका छन्। स्वदेशी पुरुष कैदी–थुनुवा १,०४६ जना छन् भने विदेशी पुरुष १९९ र महिला १६ जना रहेका छन्।
कारागारमा प्रायः पर्सा र बारा जिल्लामा अपराध गरेका र अदालतबाट दोषी ठहर भएका वा पुर्पक्ष थुनुवामा पठाइएकाहरू राखिएका छन्।
प्रमुख भुसालका अनुसार कैदी–थुनुवामध्ये प्रायः मौसमी रोग देखिने गर्छ। सामान्य उपचार कारागारमै कार्यरत स्वास्थ्य सहायकले गर्ने गरे पनि गम्भीर बिरामीलाई नारायणी अस्पताल पठाइन्छ।
कारागारमा करिब ४७ वटा शौचालय भए पनि कैदी थुनुवाले आलोपालो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।
