वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१६ स्थित एक होटलमा छापा मार्दै जुवा खेलिरहेका तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, आइतबार राति करिब ९ः४५ बजे फुलवारी टोलस्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।
जुवाखालबाटै पक्राउ पर्नेमा वीरगन्ज–१६ का २० वर्षीय रोहित रौनियार, सोही स्थानका ३० वर्षीय श्यामबाबु राय, र वडा नं. १५ का २५ वर्षीय अनन्त कुमार गुप्ता रहेका छन्।
प्रहरीले जुवा खेलिरहेको स्थानबाट नगद ५० हजार ७५५ रुपैयाँ र ३ बुक तास समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध जुवा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार, थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ।
