आज:  | Fri, 29, May, 2026

वीरगञ्जमा हैजा नियन्त्रणका लागि खानेपानी शुद्धिकरणलाई प्राथमिकता

दिशा निर्देश August 27, 2025 मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज हाल वीरगञ्जमा फैलिँदो झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले खानेपानी शुद्धिकरणलाई प्राथमिक प्राथमिकताका रूपमा अघि सारेको छ। महानगरले विभिन्न ट्यांकीहरूमा ट्यांकरमार्फत पुर्‍याइने पानीलाई क्लोरीन झोल र ब्लिचिङ पाउडर प्रयोग गरेर मात्र वितरण गर्ने व्यवस्था मिलाएको छ।

महानगरका वातावरण निरीक्षक प्रकाश ऐरका अनुसार दूषित पानीका कारण हैजा, टाइफाइडसहित पाचनसम्बन्धी रोग फैलने सम्भावना धेरै हुन्छ। उहाँले भन्नुभयो, “हामीले ट्यांकरमै क्लोरीन घोल्ने र ट्यांकीमा ब्लिचिङ पाउडर प्रयोग गर्ने व्यवस्था गरेका छौँ। यसरी शुद्धिकरण नगरी कुनै पनि स्थानमा पानी पठाइँदैन।”

विशेषज्ञहरूका अनुसार ब्लिचिङ पाउडर पानीलाई सुरक्षित बनाउन प्रभावकारी उपाय हो। यसले पानीमा क्लोरीन मुक्त गरेर हैजा र टाइफाइडजस्ता रोगका जीवाणुहरूलाई तत्काल नष्ट गर्ने भएकाले लामो समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ।

महानगर प्रमुख राजेशमान सिंहले खानेपानी शुद्धिकरणलाई रोग नियन्त्रणको सबैभन्दा महत्वपूर्ण उपाय बताउँदै नागरिकलाई पनि सतर्क रहन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “सामुदायिक स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। महानगरले आफ्नो तर्फबाट शुद्धिकरणको सम्पूर्ण प्रक्रिया अवलम्बन गरिरहेको छ। तर नागरिकले पनि घरमै पानी उमालेर मात्र पिउनु र सरसफाइमा ध्यान दिनु आवश्यक छ। हामी कुनै पनि हालतमा अशुद्ध पानी वितरण हुन दिनेछैनौँ।”

महानगरले प्रत्येक घरपरिवारलाई सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।


सम्बन्धित खबरहरु