आज:  | Fri, 29, May, 2026

वीरगञ्जमा ‘सेल्फ डिफेन्स युएसी अनुशिक्षण तालिम’ सम्पन्न, ३५ जना सशस्त्र प्रहरीलाई आत्मरक्षा सीप

दिशा निर्देश August 24, 2025 मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा वीरगञ्ज तेक्वान्डो डोजाङ्गको विशेष सहयोगमा सञ्चालन भएको ‘सेल्फ डिफेन्स युएसी अनुशिक्षण तालिम’ भदौ ८ गते विशेष समारोहबीच सम्पन्न भएको छ।

साउन २८ गतेदेखि सुरु भई १२ दिनसम्म निरन्तर सञ्चालन भएको यस तालिममा नं.१३ गण हे.क्वाबाट ५ महिला र ५ पुरुष गरी १० जना तथा मातहत युनिटहरूबाट ५ महिला र २० पुरुष गरी २५ जना गरी कुल ३५ जना  सशस्त्र प्रहरी कर्मचारीहरू सहभागी भएका थिए।

तालिमलाई सफल बनाउन वीरगञ्ज तेक्वान्डो डोजाङ्गका प्रमुख प्रशिक्षक, ४ ड्यान ब्ल्याक बेल्ट एशियन प्लेयर महमद वैशसहित ९ जना प्रशिक्षकहरूको उल्लेखनीय योगदान थियो। प्रशिक्षकहरूमा २ ड्यान ब्ल्याक बेल्ट प्रथम बर्णवाल, ईमरान शेख, रोशन पटेल, सुजित यादव, राजन गुप्ता, हिमानी गुप्ता, नेहा झा र सन्तोष कुमार रौनियार रहेका थिए।

समापन समारोहमा बोल्ने वक्ताहरूले आत्मरक्षा तालिमलाई सुरक्षाकर्मीको क्षमता अभिवृद्धि गर्ने अपरिहार्य सीपका रूपमा औंल्याए। उनीहरूको भनाइमा, आत्मरक्षा भन्नाले केवल तत्काल आक्रमणको प्रतिकार मात्र नभई सम्भावित खतरालाई विफल पार्ने दक्षता हो। यसले सुरक्षाकर्मीलाई सुरक्षित रहँदै अनावश्यक आक्रमणलाई नियन्त्रणमा ल्याउन मद्दत गर्छ।

समापन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले आत्मरक्षालाई सुरक्षाकर्मीको जीवन रक्षा र कार्य दक्षतासँग प्रत्यक्ष सम्बन्धित रहेको बताए। उनले भने, “सीमा सुरक्षादेखि अपराध नियन्त्रणसम्म सशस्त्र प्रहरीलाई विभिन्न चुनौतीहरू भोग्नुपर्छ। यस्तो तालिमले सुरक्षाकर्मीहरूलाई अझ सक्षम, आत्मविश्वासी र जिम्मेवार बनाउन सहयोग पुर्‍याउँछ। भविष्यमा पनि हामी यसलाई निरन्तरता दिनेछौं।”

तालिमका प्रमुख प्रशिक्षक वैश महम्मदले सहभागी सशस्त्र प्रहरीहरूको उत्साह र लगनशीलताको प्रशंसा गर्दै भने, “आत्मरक्षा केवल प्रविधि होइन, मानसिक तयारी पनि हो। यस तालिममार्फत सुरक्षाकर्मीहरूले आकस्मिक अवस्थालाई चाँडै मूल्याङ्कन गर्ने, जोखिम टार्ने र आवश्यक परेमा प्रभावकारी प्रतिकार गर्ने सीप सिकेका छन्।”

सशस्त्र प्रहरी बल पर्साले आत्मरक्षा तालिमलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित खबरहरु