वीरगञ्जस्थित नगरसभा गृहमा शुक्रबार सम्पन्न प्याब्सन अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा साउथ जोन माध्यामिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ। प्रतियोगितामा धिमाल समुदायको नृत्य प्रस्तुत गरेर साउथ जोनले निर्णायकहरूको मन जित्दै शीर्ष स्थान हासिल गर्यो।
प्रतियोगितामा सन्थाल समुदायको नृत्य प्रस्तुत गर्दै लिटिल फ्लावर मावि द्वितीय स्थानमा रह्यो भने मनकामना माविले मारुनी नृत्य प्रस्तुत गर्दै तृतीय स्थान हात पार्यो। मूनलाईट मावि चौथो स्थानमा रहँदा गौतम मावि र जीवन ज्योति माविले सान्त्वना पुरस्कार प्राप्त गरे।
प्याब्सन पर्सा र वीरगञ्जको संयुक्त आयोजनामा सम्पन्न यस प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्नुभएको थियो। प्याब्सन पर्सामा आबद्ध २३ विद्यालयका विद्यार्थीहरूले नेपालका विभिन्न समुदायका भेषभूषा, संस्कृतिका झल्को दिने नृत्य प्रस्तुत गरेका थिए, जसमा साकेला नाच, झिझिया, थारु झुमरा नाच लगायतका लोक नृत्य समावेश थिए।
विजेता तथा सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, केन्द्रीय सदस्य छेडुप लामा लगायतका अतिथिहरूले शिल्ड, प्रमाणपत्र, र मायाको चिनो प्रदान गर्नुभयो। कार्यक्रममा प्याब्सन पर्सा अध्यक्ष पूरण प्रधान र नगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। सहजीकरण प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले गर्नुभएको यस अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे लगायतले शुभकामना मन्तव्य राखेका थिए।
प्रतियोगिताले विद्यार्थीहरूको सांस्कृतिक प्रतिभा उजागर गर्दै नेपाली परम्परागत नृत्य तथा संस्कृतिको संरक्षण र प्रवर्धनमा योगदान पुर्याएको छ।
