वीरगञ्ज। युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुपको संयुक्त आयोजनामा वीरगञ्जमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न भएको छ । फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताको अध्यक्षतामा आयोजित प्रतियोगितामा विद्यार्थी, युवा तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खेल र खेलाडी महानगरपालिकाको प्राथमिकतामा रहेको स्पष्ट पारे । खेलकुदकै माध्यमबाट देशको पहिचान स्थापित हुने भएकाले खेलाडीको सम्मान र प्रोत्साहन अत्यावश्यक रहेको उनको भनाइ थियो । महानगरपालिकाले नयाँ खेलाडी उत्पादनदेखि उनीहरूको क्षमता विकास, सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेको उनले जानकारी दिए । खेलकुदले अनुशासन, स्वास्थ्य र आत्मविश्वास बढाउने भएकाले युवालाई खेलप्रति आकर्षित गर्न स्थानीय सरकारले निरन्तर पहल गरिरहेको सिंहले बताए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष रामकिशोर सिंह पराग, लायन्स क्लब इन्टरनेशनल ३२५ एस का प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर रामबिहारी पाण्डे, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ बासु तिमिल्सिना, प्याबसन पर्साकी उपाध्यक्ष सुशिला साह, पर्सा जिल्लाका एथ्लेटिक्स प्रशिक्षक बिश्वेश्वर पटेल लगायतले आफ्नो भनाइ राख्दै नियमित दौड र खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउनेमा जोड दिए ।
युथ सर्भ फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताले विशेष गरी विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताए । दौडप्रति रुचि भएका प्रतिभाहरूलाई अवसर प्रदान गर्नु पनि कार्यक्रमको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।
कार्यक्रम संयोजक दिपु वर्णवालले धन्यवाद मन्तव्य राख्दै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै संघसंस्था, स्वयंसेवक, सहभागी र समर्थकप्रति आभार व्यक्त गरे । उनले यस्ता कार्यक्रमले वीरगञ्जलाई खेलकुदमैत्री शहरको रूपमा चिनाउन सहयोग पुग्ने धारणा राखे ।
म्याराथन प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय उम्जन, बाराका पप्पु कुमार यादव प्रथम भए भने उनकै भाइ सोही विद्यालयका धिरज प्रसाद यादव द्वितीय भए । वीरगञ्जस्थित एसआर ग्यालेक्सीका सचिन यादव तृतीय स्थान हासिल गर्न सफल भए । प्रथम हुने पप्पु यादवले एउटा साइकलसहित नगद ५ हजार १ सय रुपैयाँ, द्वितीय हुने धिरज यादवले नगद ५ हजार १ सय रुपैयाँ र तृतीय हुने सचिन यादवले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे । सबै विजेताले मेडल, प्रमाणपत्र र एक–एक जोड जुत्ता पनि प्राप्त गरेका थिए । कार्यक्रम संयोजनमा अंकित चौरसिया, नरोत्तम पाण्डे लगायतको सक्रिय भूमिका रहेको थियो।
कार्यक्रममा प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ता, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, लायन्स क्लब अफ वीरगञ्ज ह्युमानिटीका अध्यक्ष अमरकान्त झा, लायन्स क्लब इन्टरनेशनलका श्याम गुप्ता, डा. पशुपती भट्ट, डा. दीपक चौरसिया, मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता लगायतको उपस्थिति रहेको युथ सर्भ फाउण्डेशनकी सचिव सोनालाल सहनीले जानकारी दिए । सचिव सहनीकाअनुसार प्रतियोगितामा बारा र पर्साका २५० भन्दा बढीको सहभागिता रहेको थियो ।
