वीरगञ्ज – वीरगञ्जको मुख्य सडक छेउमा हुँदै आएको चारपाङ्ग्रे सवारी पार्किङ अबदेखि निषेध गरिएको छ ।
वीरगञ्ज महानगरले नगरको विभिन्न ५ स्थानमा पार्किङको व्यवस्था मिलाएसँगै सडक छेउमा हुँदै आएको सवारी पार्किङ हटाउन सुरु गरिएको हो ।
महानगरले आदर्शनगर स्थित हजारी मलको खालि जग्गा र गीता मन्दिर छेउको खालि जग्गा पार्किङका लागि व्यवस्थापन गरेको छ ।
यसअघि विर्ताको मालपोत नजिकको खालि स्थान, पुरानो बस पार्क र घण्टाघर नजिक वि.पि.उधानको खालि स्थानमा पार्किङ गरिँदै आएको थियो ।
पार्किङ गर्ने ठाउँ बढाइएसँगै सडकमै हुँदै आएको जथाभावि पार्किङ हटाउन सुरु गरिएको हो ।
महानगपालिकाका मेयर राजेशमान सिंहले महानरक्षेत्रमा ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै आउजाउमा सहज बनाउन पार्किङ क्षेत्र बढाइएकाले अबदेखि सडक छेउमा हुने गरेको पार्किङ बन्द हुने बताए ।
घण्टाघरदेखि विर्तासम्म, लिंक रोड क्षेत्र, आदर्शनगर चोकदेखि महानगर कार्यालयसम्मका बढी भिडभाड हुने क्षेत्रका सडक छेउमा चार पाङ्ग्रे सवारी पार्किङ गर्न निषेध गरिएको हो ।
त्यस क्षेत्रमा पुग्ने चारपाङ्ग्रे सवारीले अब तोकिएको स्थानमा मात्रै पार्किङ गर्नु पर्ने छ । जथाभावि पार्किङ गरिए नियमानुसार जरिवाना गरिने महानगरको फोहोर व्यवस्थापन तथा अनुगमन, वृक्षारोपण र फुटपाथ व्यवस्थापन संयोजक समेत रहेका ग्रिनसिटीका जयप्रकाश खेतानले जानकारी दिए । खेतानका अनुसार त्यस क्षेत्रमा चौबिसै घण्टा चार पाङ्ग्रे सवारीलाई पार्किङ्ग गर्न दिइने छैन ।
हजारी मलको खालि जग्गामा पार्किङ्गका लागि व्यवस्थित बनाउने काम भइरहेको छ । त्याहाँ ढलानको काम भइरहेको छ । केही समयपछि सिसि टिभी क्यामरा जडान गरेर व्यवस्थित बनाएपछि सशूल्क पार्किङ्गको व्यवस्था मिलाइने महानगरको तयारी छ ।
साँघुरो सडक र बढ्दो सवारी चापसँगै सिमित बजार क्षेत्रका कारण वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौति थपिँदै आएको छ ।
आवश्यक ठाउँमा पार्किङ सुविधा उपलब्ध गराएर यही चुनौतिलाई सहज बनाउँदै ट्राफिक व्यवस्थापन गर्न लागिएको हो ।
जथाभावी पार्किङलाई रोक्दै तोकिएको स्थानमा मात्रै पार्किङ गराउन नगर प्रहरी र जिल्ला ट्राफिक प्रहरी परिचलन गर्ने तयारी छ ।
वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक सेवा केन्द्र लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिह?ले वीरगञ्जको ट्राफिक व्यवस्थापन चुस्त बनाउने विषयमा छलफल गर्दै चार पाङ्ग्रे सवारी मुख्य सडक छेउमा पार्किङ गर्न रोक लगाउने निष्कर्षमा पुगेको हो ।
यस्तै महानगरपालिकाले नगर क्षेत्रका सार्वजनिक नाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन पनि आग्रह गरेको छ । महानगरलाई सुन्दर र स्वच्छ बनाउनका साथै व्यवस्थित बनाउनका लागि पनि नालाको व्यवस्थापन हुन ज?री रहेको हुँदा अतिक्रमित संरचना हटाउनुपर्ने वीरगञ्ज महानगरपालिका नगर प्रहरी प्रमुख हरि भुषालले बताए ।
साथै महानगरलाई सुन्दर र सफा राख्नका लागि जथाभावि फोहोर नफाल्न र घर तथा पसलको फोहोर डस्टबिनमा राखी फोहोरको गाडीमा मात्रै फाल्न पनि उनले आग्रह गरेका छन् ।
फुटपाथसँगै जथाभावि रुपमा पसल थाप्ने प्रवृति बढेको प्रति आपत्ती जनाउँदै छलफलमा सहभागी वीरगञ्ज युवा संघका अध्यक्ष कमल चौगाईले त्यसो नगर्न आग्रह गरेका छन् ।
