वीरगञ्ज । पर्सा जिल्लाको सुरक्षा समितिको निर्णय अनुसार वीरगञ्जमा जारी निषेधाज्ञा शुक्रबार बिहान ७ बजेदेखि हटाइएको छ। निषेधाज्ञा हटेसँगै जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ।
जिल्ला प्रशासन कार्यालयमा बिहीबार साँझ बसेको सुरक्षा समितिको बैठकले पछिल्लो समय अवस्था सामान्य बन्दै गएको मूल्याङ्कन गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले “शान्ति सुरक्षा कायम भइरहेकाले जनजीवन सहज बनाउन निषेधाज्ञा हटाइएको” जानकारी दिएका छन्।
गत शनिबार हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा छपकैया क्षेत्रमा दुई धार्मिक समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। कर्फ्यू आइतबार राति १२ बजेदेखि हटाइएपछि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको थियो।
शनिबारको झडप नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले १४५ राउण्ड अश्रुग्यास र दुई राउण्ड हवाइ फायर गर्नुपरेको थियो। उक्त घटनामा २५ सुरक्षाकर्मी र १५ भन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए। साथै, दुईवटा बिरियानी हाउस, केही मासु र औषधि पसल, निजी घरहरूमा तोडफोड र आठभन्दा बढी मोटरसाइकलमा आगजनी भएको थियो।
यद्यपि निषेधाज्ञा हटाइएको भए पनि शान्ति सुरक्षा कायम राख्न सुरक्षा सतर्कता केही दिन यथावत् रहने प्रशासनले जनाएको छ।
