आज:  | Fri, 29, May, 2026

विभिन्न कार्यक्रमसहित देशभर निजामती सेवा दिवस मनाइँदै

दिशा निर्देश September 7, 2025 मा प्रकाशित (८ महिना अघि)

काठमाडौं । आज विभिन्न कार्यक्रमका साथ निजामती सेवा दिवस मनाइँदै छ। २०१२ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले ल्याएको निजामती सेवा ऐनको स्मरणमा २०६२ सालदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो।

दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रभातफेरी, सम्मान तथा पुरस्कार वितरणलगायतका कार्यक्रमको आयोजना गरेको छ।

यस दिनलाई निजामती सेवाको मूल्य–मान्यता, आदर्श, चरित्र, नैतिकता, सदाचारिता र निष्ठाजस्ता गुणलाई स्मरण गर्दै नागरिक सेवामा प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिने गरिन्छ। करिब ८५ हजार निजामती कर्मचारीका लागि यो दिवस उत्सव र कदरको दिन मानिन्छ।

मुख्यसचिवको अध्यक्षतामा गठित मूल समारोह समितिअन्तर्गत स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्‍याली, दीपावलीलगायतका कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा काठमाडौँमा हुने मूल समारोहमा वर्षभर उत्कृष्ट काम गर्ने कर्मचारीलाई मूल्याङ्कन गरी एक जनालाई सर्वोत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कार प्रदान गरिनेछ। अघिल्लो वर्ष घोषित कर्मचारीलाई पनि प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।


सम्बन्धित खबरहरु