आज:  | Sat, 09, May, 2026

विद्यालयसम्बन्धी भिडियो सामग्रीप्रति सानो पाइलाको ध्यानाकर्षण

Avatar photo दिशा निर्देश २१ कार्तिक २०८२, बिहीबार १५:२६ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । केही विद्यालयमा गएर केही सञ्चार माध्यमहरूले तयार पारेका भिडियो सामग्रीप्रति सामुदायिक संस्था सानो पाइलाको गम्भीर ध्यानाकर्षण भएको छ । शैक्षिक अवस्था र विद्यालयको चुनौती देखाउने नाममा विद्यार्थीहरूलाई क्यामेरा अगाडि बोल्न लगाई सामाजिक सञ्जालमा प्रसारण गरिएको सामग्रीले बालबालिकाको मानसिक अवस्था र गोपनीयतामा नकारात्मक प्रभाव पार्न सक्ने संस्थाको तर्क छ ।

बाराको कलैया उपमहानगरपालिका–१४, छोटकी फूलवरियास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, र वीरगञ्ज महानगरपालिका–१५, भेडियाहीस्थित सामुदायिक विद्यालयमा पुगेर तयार पारिएको सामग्रीप्रति संस्थाले आपत्ती जनाएको हो । उक्त भिडियोहरू वीरगञ्ज सिटी, वीरगञ्ज चर्चा न्यूज र एसटिपी खबर नामक फेसबुक पेजमार्फत सार्वजनिक भएका छन् ।

सानो पाइलाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय हाताभित्र अध्ययनरत बालबालिकालाई प्रत्यक्ष प्रश्न सोध्दै खिचिएको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्नु जिम्मेवार पत्रकारिता नहुने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “यसले बालबालिकाको दीर्घकालीन मनोविज्ञानमा असर पार्नुका साथै गोपनीयता र अधिकारमाथि आघात पु¥याउँछ ।” संस्थाले मधेसका सामुदायिक विद्यालयमा चुनौती र संरचनागत कमजोरी रहेको यथार्थ स्वीकार गर्दै समस्या देखाउनुअघि विधि र संवेदनशीलताको पालन अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ ।

समस्या उजागर गर्न वैकल्पिक र संवेदनशील विधि प्रयोग गर्नुपर्नेमा संस्थाले जोड दिएको छ । विज्ञप्तिमा बालबालिका ऐन, २०७५ को धारा ८ र ६६, नेपालको संविधानको धारा २८ (गोपनीयताको हक) र धारा ३९ (बालबालिकाको अधिकार) तथा प्रेस काउन्सिल नेपालको मिडिया आचारसंहिताको उल्लेख गर्दै, यस्ता सामग्री सार्वजनिक गर्नु बाल संरक्षण कानुनको उल्लङ्घन ठहरिने उल्लेख छ ।

सानो पाइलाले सञ्चारकर्मी, विद्यालय, अभिभावक र सरोकारवाला सबैलाई संवेदनशील र सहयोगात्मक वातावरणमा मुद्दालाई समाधानमुखी रूपमा उठाउन आग्रह गरेको छ ।


सम्बन्धित खबरहरु