आज:  | Fri, 29, May, 2026

लस एन्जलसमा आप्रवासी धरपकडविरुद्ध प्रदर्शन जारी, समुद्री सेना तैनाथ

दिशा निर्देश June 10, 2025 मा प्रकाशित (११ महिना अघि)

लस एन्जलस, अमेरिका — आप्रवासीमाथि भइरहेको धरपकडविरुद्ध लस एन्जलसमा भइरहेको प्रदर्शन सोमबारसम्म पनि जारी रहेको छ। शुक्रबारदेखि सुरु भएको विरोध प्रदर्शनलाई रोक्न सरकारी प्रयास विफल भएपछि अब संघीय सरकारले समुद्री सेना समेत परिचालन गरेको छ।

यसअघि प्रदर्शन नियन्त्रणमा ल्याउन राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरिएको थियो। तर स्थिति नियन्त्रणमा आउन नसकेपछि थप सात सय समुद्री सेना पठाइएको संघीय सरकारद्वारा जनाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा गार्ड प्रयोग गर्ने आफ्नो निर्णयलाई उचित ठहर गरेका छन्। तर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले ट्रम्पले आफूलाई जानकारी नदिई राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरेको भन्दै आपत्ति जनाउँदै सोमबार मुद्दा दर्ता गराएका छन्। उक्त मुद्दा न्युसम र राज्यका महान्यायाधिवक्ता रोब बोन्टाले संयुक्त रूपमा दर्ता गरेका हुन्।

न्युसमले प्रदर्शन दबाउन सुरक्षाकर्मी प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गर्दै, आफ्नै देशका नागरिकमाथि सैन्य बल प्रयोग गर्नु निन्दनीय भएको बताएका छन्। उनले सुरक्षाकर्मीहरूलाई शान्तिपूर्ण प्रदर्शनमाथि बल प्रयोग नगर्न आग्रह गर्दै यस्तो अवस्थामा संयमता देखाउनुपर्ने बताएका छन्।

यसैबीच, प्रशासनले आप्रवासी अधिकारका अभियन्ता तथा मजदुर नेता डेभिड हेराल्डलाई अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ। उनी अहिले महानगरीय बन्दी गृहमा थुनामा रहेका छन्।

उनको समर्थनमा प्रदर्शनकारीहरू भेला हुने तयारीमा छन्। हेराल्डको रिहाइको माग गर्दै सोही पार्कमा व्यापक प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।


सम्बन्धित खबरहरु