आज:  | Fri, 29, May, 2026

लस एन्जलसमा आप्रवासीको प्रदर्शन जारी, ट्रम्पको राष्ट्रिय सुरक्षा गार्ड प्रयोगप्रति डेमोक्र्याटहरूको आलोचना

दिशा निर्देश June 9, 2025 मा प्रकाशित (११ महिना अघि)

लस एन्जलस — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरे पनि लस एन्जलसमा आप्रवासीविरुद्धको धरपकडको विरोधमा भइरहेको प्रदर्शन रोकिएको छैन। गएको शुक्रबारदेखि सुरु भएको आन्दोलन आज पनि जारी रहेको छ।

प्रदर्शन स्थलबाट सार्वजनिक भएका भिडियो र तस्वीरहरूमा सुरक्षाकर्मीहरूले अश्रुग्याँस प्रयोग गरिरहेको दृश्य देखिएको बीबीसीले जनाएको छ। प्रदर्शनले शहरका केही मुख्य सडकहरू बन्द भएका छन्, भने प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदाय र अमेरिकी आप्रवासन एजेन्सी (ICE) का अधिकारीहरूबीच झडपसमेत भएको छ।

गएको शुक्रबार श्रमिक अधिकारकर्मी डेभिड हुरेटाको गिरफ्तारीपछि स्थिति थप तनावपूर्ण बनेको हो। यसै सन्दर्भमा डेमोक्र्याट पार्टीका गभर्नरहरूले राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन्। उनीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै ट्रम्पले कसैसँग सल्लाह नगरी राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरेको भन्दै शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन्। यद्यपि राष्ट्रिय सुरक्षा गार्ड राज्यस्तरीय संयन्त्र भए पनि ट्रम्पले यसलाई संघीय हैसियतमा प्रयोग गर्न खोजेको उनीहरूको भनाइ छ।

यस हप्ता मात्र ICE को कारबाहीमा ११८ जना आप्रवासीहरू पक्राउ परेका छन्। यस्ता कारबाही र त्यसको विरोधस्वरूप भइरहेको प्रदर्शनले अमेरिकाको आप्रवासन नीतिप्रति फेरि बहस चर्किएको छ।


सम्बन्धित खबरहरु