रौतहट । मधेश प्रदेशका अर्थमन्त्री तथा नेपाली कांग्रेस रौतहट जिल्ला सभापति सुनिल कुमार यादवले विकासलाई समृद्धिको आधार बनाउँदै अघि बढिरहेको बताएका छन्।
गृह जिल्ला रौतहटको कटहरियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रदेश सरकारले नागरिकलाई समृद्ध बनाउन कृषि तथा भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिएको जानकारी दिए।
संगठन सुदृढीकरणका विषयमा मन्तव्य दिँदै मन्त्री यादवले पार्टीलाई सबल बनाउन सबै तहका नेता–कार्यकर्ताबीच आपसी विश्वास, समन्वय र निरन्तर संवाद अपरिहार्य रहेकोमा जोड दिए। उनले प्रदेश सरकारले अघि बढाएका विकास योजनाबारे जानकारी दिँदै कार्यकर्तालाई संगठनमा अझ सक्रिय रहन आह्वान गरे।
कार्यक्रममा सहभागी कार्यकर्ताले आफ्ना गुनासो, समस्या तथा पार्टी संगठनलाई सुदृढ बनाउनुपर्ने उपायबारे छलफल गरेका थिए। नेपाली कांग्रेस कटहरिया नगर समितिको आयोजनामा नगर अध्यक्ष शम्भुकान्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेतादेखि साधारण कार्यकर्तासम्मको सक्रिय सहभागिता थियो।
