जनकपुरधाम । “दलित पत्रकारको सशक्तीकरण र समानताको सुनिश्चितता” भन्ने मूल नारासहित राष्ट्रिय दलित पत्रकार संघ, नेपाल मधेस प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
सङ्घका अध्यक्ष कैलाश दासको अध्यक्षतामा जनकपुरधाममा सम्पन्न अधिवेशनको उद्घाटन मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए ।
कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष विनोद पहाडी, प्रदेशसभा सदस्य राम आशिष् यादव र लखन दास, सङ्घका केन्द्रीय उपाध्यक्ष भोला पासवान, सञ्चारकर्मीहरू, अधिकारकर्मीहरू, विभिन्न जिल्लाबाट आएका प्रतिनिधि र समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कैलाश दास पुनः अध्यक्ष, १५ सदस्यीय नयाँ कार्यसमिति चयन
अधिवेशनको समापन सत्रमा सङ्घको नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । जसअनुसार कैलाश दास पुनः अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा आशिष् विश्वकर्मा र पूजा पासवान, सचिवमा सूर्यनारायण वि.क., सहसचिवमा मेघराज पासवान (निखिल) र राम प्रवेश बैठा तथा कोषाध्यक्षमा मन्नु पासवान चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा ममता बैठ्या, रामनाथ राम, गोपाल महरा, शर्मा बैठ्या, सुशील हजरा, सुब्बा साहेब पासवान लगायत रहेका छन् ।
पुनः अध्यक्षमा चयन भएका दासले पहिलो कार्यकालमा स्रोत र साधनको अभावबिच पनि महत्त्वपूर्ण कार्यहरू सम्पन्न गरेको उल्लेख गर्दै दोस्रो कार्यकाललाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता जनाए । उनले मधेस प्रदेशका दलित पत्रकारहरूको पेसागत हकहित, क्षमता अभिवृद्धि, संरचनागत विस्तार र सुरक्षाका लागि निरन्तर क्रियाशील रहने बताए ।
सङ्घले जिल्ला स्तरीय संरचना विस्तार, दलित युवाहरूको सञ्चार क्षेत्रमा सहभागिता वृद्धि, साझेदारी सञ्जाल निर्माण र तालिम कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिने सङ्घका नवनिर्वाचित सचिव सूर्यनारायण विकले बताए ।
