आज:  | Fri, 29, May, 2026

रवि लामिछानेविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुँदै

दिशा निर्देश December 22, 2024 मा प्रकाशित (१ साल अघि)

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुँदैछ ।

जिल्ला प्रहरी कार्यालयले पुस १ गते लामिछानेमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) सहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरेको हो। पूरक अभियोजन दर्ता गरिएका अभियुक्तमा पक्राउ परेका र फरार दुवै छन्।

सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गते अदालतले चार दिनको म्याद थपेको थियो । चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आज अदालतमा मुद्दा दर्ता गर्न लागिएको जनाइएको छ ।

कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु