वीरगञ्ज। जेन–जी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको विभागका कर्मचारीहरूले बताएका छन्। ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा पुनः सुरु गर्न सकिने अवस्थामा रहेको उनीहरूको भनाइ छ।
भदौ २३ र २४ मा चर्किएको आन्दोलनका क्रममा संसद भवनपूर्वतर्फको विभाग कार्यालयमा आगजनी भएको थियो। घटनामा इम्बोस्ड नम्बरसम्बन्धी सम्पूर्ण डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन र वितरणका लागि तयार १२ लाख थानमध्ये करिब ६ लाख थान लाइसेन्स जलेर नष्ट भएका छन्। बाँकी ६ लाख थान स्मार्ट लाइसेन्स भने सुरक्षित रहेको पाइएको छ।
शुक्रबार बिहान विभाग परिसरमा भएको सरसफाइ कार्यक्रममा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई कर्मचारीहरूले स्मार्ट लाइसेन्सको डेटा सुरक्षित रहेकाले सेवा पुनः सुरु गर्न सकिने जानकारी दिएका हुन्।
त्यस क्रममा मन्त्री घिसिङले अत्यावश्यक लाइसेन्स छाप्नका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गर्ने बताए। “राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट पनि लाइसेन्स छाप्न सकिन्छ भन्ने कुरा आएको छ,” मन्त्री घिसिङले भने, “विदेश जानुपर्ने वा तत्काल आवश्यकता पर्ने व्यक्तिका लागि त्यहाँको मेसिन प्रयोग गर्न सकिनेछ।”
यातायात व्यवस्था विभागका अनुसार हाल करिब २५ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी छ। बाँकी सामग्री खरिदका लागि विभागले तत्काल टेन्डर आह्वान गर्ने तयारी गरेको छ।
