अब्दुल कलाम हुसेन वीरगञ्ज । महिलाहरुले मात्रै सञ्चालन गरेको मध्य नेपाल मिडिया प्रा.लि.द्वारा सञ्चालित मध्य नेपाल सन्देश पत्रिकाले यस वर्ष निलिमा पौडेललाई पुरस्कार प्रदान गर्ने भएको छ ।
पत्रिकाले हरेक वर्ष प्रदान गर्दै आएको मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार पौडेललाई प्रदान गर्ने निर्णय गरेको मध्य नेपाल सन्देश पत्रिकाकी सम्पादक कबिता खडकाले जानकारी दिइन । पत्रिकाको आठौँ वार्षिकोत्सवको अवसरमा यही भदौ १२ गते कार्यक्रमका बीच ११ हजार १११ रुपैयाँ राशीसहित पुरस्कार प्रदान गर्ने खड्काले बताइन् ।
पौडेल मध्य तराईकै पहिलो रेडियो ‘रेडियो वीरगञ्ज’ मा कार्यरत छिन् । १६ वर्षदेखि निरन्तर रुपमा सक्रिय पौडेल नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य पनि हुन् । १६ वर्षसम्म रेडियोमार्फत आवाजको माध्यमबाट खबर सम्प्रेषण गर्नुका साथै पत्रकारिता क्षेत्रमा पौडेलले दिएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको सम्पादक खड्काले बताइन् ।
