वीरगञ्ज । नेकपा एमाले निकट मजदुर संगठन जिफन्ट (जनता मजदुर महासंघ नेपाल) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।
गौतमको बिहीबार भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा हृदयघातका कारण मृत्यु भएको हो।
नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा औद्योगिक कोरिडोरका करिब १० उद्योगको विद्युत् आपूर्ति बन्द गरेको विरोधमा उद्योगी र मजदुरहरूले संयुक्तरूपमा प्रदर्शन गरिरहेका थिए। सोही प्रदर्शनमा मजदुर पक्षबाट भाषण गर्दै गर्दा गौतम बेहोस भएर ढलेका थिए।
उनीलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो। अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार चिकित्सकहरूले उनलाई अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए।
६५ वर्षीय गौतम लामो समयदेखि नेकपा एमाले र जिफन्टको संगठनमा सक्रिय थिए। उनी २०५४ सालदेखि पार्टी र मजदुर आन्दोलनमा संलग्न रहँदै आएका थिए।
बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर निवासी गौतमका श्रीमती र दुई छोराहरू रहेका छन्।
