आज:  | Fri, 29, May, 2026

भारत–पाकिस्तानबीच चारदिने सैन्य संघर्षपछि आज वार्ता, संघर्षविराम कायम

दिशा निर्देश May 12, 2025 मा प्रकाशित (१ साल अघि)

 वैशाख,२९ । जम्मु–कश्मीरको पाहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि चुलिएको भारत–पाकिस्तानबीचको सैन्य तनाव चार दिनसम्मको भीषण संघर्षपछि केही शान्त भएको छ। पछिल्लो समय केही स्थिर देखिएको अवस्थाबीच आज दुबै देशका सेनाका अधिकारीहरूबीच वार्ता हुन लागेको छ।

वार्ता आज सोमबार (२९ वैशाख) दिउँसो १२ बजे हुने तय भएको छ। भारतले यस वार्तालाई ‘द्विपक्षीय सैन्य संवाद’ को निरन्तरता भनेको छ भने तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संघर्षविराममा आफूले मध्यस्थता गरेको दाबी गरे पनि भारतले त्यसलाई अस्वीकार गर्दै वार्ता पूर्ण रूपमा द्विपक्षीय रहेको जनाएको छ।

२२ अप्रिलमा जम्मु–कश्मीरको पाहलगाममा पर्यटकहरूलाई लक्षित गरी गरिएको आतंकवादी हमलामा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि भारतले पाकिस्तानमा रहेका आतङ्ककारी शिविरहरूलाई लक्षित गर्दै आक्रमण सुरु गरेको थियो।

भारतले ७ मे देखि सुरु गरेको ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान नियन्त्रणमा रहेका कश्मीर र भिकर क्षेत्रका नौवटा आतङ्कवादी शिविरहरूमा आक्रमण गरी १०० भन्दा बढी आतङ्ककारी मारिएको दाबी गरेको छ।

यही पृष्ठभूमिमा १० मे (२०८२ वैशाख १० गते) का दिन पाकिस्तानका डीजीएमओ (डाइरेक्टर जनरल अफ मिलिटरी अपरेशन्स) ले भारतीय समकक्षीसँग सम्पर्क गरी संघर्षविरामको प्रस्ताव गरेका थिए। भारतले प्रस्ताव स्वीकार गर्दै साँझ ५ बजेदेखि संघर्षविराम लागू गरेको जनाएको छ।

संघर्षविरामपछि पनि केही दिन सीमावर्ती क्षेत्रमा गोलीबारी र ड्रोन गतिविधि देखिएका थिए। दुवै पक्षले एकअर्कालाई संघर्षविराम उल्लंघनको दोष दिएका थिए। यद्यपि, आइतबार बिहानदेखि अवस्था केही सामान्य भएको रिपोर्ट गरिएको छ।

आजको वार्तामा संघर्षविरामका शर्तहरू, सुरक्षासम्बन्धी समन्वय, र भविष्यका सम्भावित रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ। यस वार्तालाई भारत र पाकिस्तानबीच स्थायी शान्तिको दिशामा सकारात्मक कदमका रूपमा हेरिएको छ।

संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले संघर्षविरामको स्वागत गर्दै दुवै पक्षलाई संयम अपनाउन र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन्।


सम्बन्धित खबरहरु