काठमाडौँ । नेपाली कांग्रेसले भारत र चीनबीच नेपालको भूमि लिपुलेक–कालापानीलाई समेटेर गरिएको भनिएको व्यापारिक सम्झौता अस्वीकार्य रहेको जनाएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले दुई छिमेकीबीचको सहमतिप्रति कडा आपत्ति जनाए।
‘भारत र चीनबीच भएको भनिएको सहमति नेपालका लागि अस्वीकार्य छ,’ उनले भने।
थापाले नेपालको सार्वभौमिकता र भूमिगत अखण्डतासँग जोडिएको यस संवेदनशील विषयमा सबै राजनीतिक दलहरू एकै स्थानमा उभिनुपर्नेमा जोड दिए।
‘यो कुनै दलको आन्तरिक राजनीतिक विषय होइन,’ उनले स्पष्ट पारे, ‘सर्वदलीय एकतालाई मजबुत पार्दै नेपालको भूमिमाथि आँखा लगाउने गतिविधिलाई अस्वीकार गर्नुपर्छ।’
