आज:  | Fri, 29, May, 2026

भन्सार छलीका १२ लाखभन्दा बढीका अवैध औषधिसहित एकजना युवक पक्राउ

दिशा निर्देश May 27, 2025 मा प्रकाशित (१ साल अघि)

वीरगंज। भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएका लाखौँ मूल्य बराबरका अवैध औषधिसहित एक युवक र गाडी पर्सा प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा पर्साको विन्दवासिनी गाउँपालिका–४, मधवलस्थित सडक खण्ड हुँदै भारतबाट अवैध औषधिहरू लोड गरेर वीरगञ्जतर्फ ल्याउँदै गरेको ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका–५ निवासी २४ वर्षीय सुनिल कुमार रामले उक्त गाडीमा विभिन्न किसिमका औषधिहरू लोड गरेका थिए। गाडी रोकी चेकजाँच गर्दा उक्त औषधिको आवश्यक विलबिजक (कागजात) नपाइएकोले गाडी, चालक र औषधिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद औषधिहरूको अनुमानित मूल्य करीब १२ लाख ७८ हजार ५ सय २० रुपैयाँ बराबर रहेको छ। उक्त गाडी, पक्राउ परेका व्यक्तिलाई र औषधिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सोही दिन वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।


सम्बन्धित खबरहरु