वीरगञ्ज, १४ साउन — बारा प्रहरीले भारी परिमाणको लागू औषध ट्रामाडोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–६ स्थित पावरहाउस चौक नजिकको नहर क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जको सहकार्यमा उक्त अपरेशन सञ्चालन गरिएको थियो।
पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको जितना थाना, अगर्वा ग्राम पञ्चायत वडा नम्बर ६ कोडीगावा टोल निवासी ५० वर्षीय मन्जन साह उर्फ उपेन्द्र साह रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बीआर ०५ बीके ७०३५ नम्बरको भारतीय नम्बर प्लेट भएको होंडा एसपी साइन मोटरसाइकलमा सवार साहले मोटरसाइकलको लेगगार्डमा प्लास्टिकको बोरामा लागू औषध लुकाएर ल्याउँदै गरेका थिए।
तलासीका क्रममा १,०३८ पत्ता (जम्मा १०,३८० ट्याब्लेट) ट्रामाडोल बरामद गरिएको हो। ट्रामाडोललाई भारतबाट ल्याएर नेपालका विभिन्न स्थानमा आपूर्ति गर्ने तयारीमा रहेको आशङ्कामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
