वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पाँच मन्त्रीको नाम सिफारिस गरेकी छन्। उद्योग, कानुन, शिक्षा, कृषि र सूचना मन्त्रालयका लागि नाम पठाइएको भए पनि स्वास्थ्य मन्त्रीको नियुक्ति भने हाललाई स्थगित गरिएको छ।
प्रधानमन्त्री कार्कीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मदनप्रसाद परियार र सूचना तथा सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेललाई सिफारिस गरेकी छन्।
यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नियुक्ति तत्काल रोकिने भएको छ। एक मन्त्रीका अनुसार उनको नियुक्ति ‘होल्ड’मा राखेर अन्य मन्त्रीलाई आजै शपथ ग्रहण गराउने तयारी छ। राष्ट्रपति कार्यालयले शपथ दिउँसो २ बजे हुने जनाएको छ।
सिन्हा ६५ वर्षे उमेर हदका कारण २०८० कात्तिकमा सर्वोच्च अदालतबाट सेवा निवृत्त भएका थिए। उनी २०७३ साउनमा न्यायाधीश नियुक्त भएका थिए।
डा. मिश्राको करियर स्वास्थ्य सेवा प्रवेश (२०५७) बाट सुरु भएको हो। केही समय ‘ग्याप’ गरेपछि उनी २०७० मा खुला प्रतिस्पर्धामार्फत पुनः सेवामा फर्किएकी थिइन्। ११औं तहमा प्रवेश पाएकी उनले कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी वहन गरेकी थिइन्। १३ भदौ २०८० देखि करिब एक वर्ष स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा रहेकी उनी मन्त्रालयको प्रवक्तासमेत थिइन्। हालै जेन–जी आन्दोलनपछि मन्त्रालयमा फर्किएर आइतबार मात्रै पदबाट राजीनामा दिएकी थिइन्।
