वीरगञ्ज — प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकामा निर्माण सम्पन्न भएको नयाँ कार्यालय भवनको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन्।
तराई–मधेशमा फैलिएको सुक्खा अवस्था अवलोकन गर्न बारा आएका ओलीले हेलिकप्टरबाट सिधै परवानीपुर बजार झरेर गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ भवनमार्फत स्थानीय जनताले सहज, छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे। गाउँपालिका स्थापना भएदेखि नै भवन निर्माणको योजना लिएर अघि बढेका जनप्रतिनिधिहरू र त्यसलाई निरन्तरता दिने कर्मचारीहरूप्रति उनले आभार प्रकट गरे।
मधेशका अधिकांश जिल्लामा सडक सञ्जाल विस्तारसँगै पुल निर्माण पनि तीव्र गतिमा भइरहेको जानकारी दिँदै ओलीले केही पुल ढिलाइको जिम्मा लापरवाह ठेकेदारहरूलाई जिम्मेवार ठहर गरे।
उनले बारालाई माछा उत्पादनका लागि ‘सुपर जोन’ घोषणा गरिसकेको उल्लेख गर्दै अब यसले यहाँका कृषकहरूको जीवनस्तर उकास्न सहयोग गर्ने बताए। कृषि आधुनिकीकरणको अभियानबाट देशलाई आत्मनिर्भर बनाउँदै समृद्ध नेपाल निर्माणको दिशामा अघि बढिरहेको धारणा व्यक्त गरे।
सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारले करिब चार वर्षको अवधिमा पालिकाको आन्तरिक स्रोतबाट ३ करोड २५ लाख ९१ हजार ५९१ रुपैयाँ लागतमा आधुनिक प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको जानकारी गराए।
