वीरगञ्ज। २०८१ सालको चैत १८ गते कीर्तिपुर मैदानमा भएको त्यो टी–२० अन्तर्राष्ट्रिय खेल धेरैले अझै बिर्सेका छैनन्। पपुवा न्युगिनीविरुद्ध बल थाम्न मैदान छिर्दा आदिल अन्सारीको अनुहारमा अनुभवभन्दा बढी उत्साह देखिन्थ्यो। त्यो बेलासम्म धेरै क्रिकेट समर्थकका लागि ‘आदिल’ अपरिचित नाम थियो। तर, त्यो खेल सकिँदासम्म उनी सामाजिक सञ्जालदेखि गल्ली गल्लीसम्म चर्चाको शिखरमा थिए, एउटा सटको कारणः हेलिकप्टर सट।
११ बलमा ३१ रन, तीन छक्का, एक चौका। तर आकडाले होइन, शैलीले बोल्थ्यो त्यो इनिङ। तर यो एक दिनको चर्चा थिएन। यो त वर्षौंको संघर्ष, अभ्यास, आलोचना, र प्रतिबन्धपछिको पुनरागमनको कथा थियो, मोहम्मद आदिल अन्सारीको।
सिम्रौनगढको गल्लीदेखि राष्ट्रिय टोलीसम्मको यात्रा
बारा जिल्लाको सिम्रौनगढमा हुर्किएका आदिल सानैदेखि बल र ब्याटसँग खेल्न रुचाउँथे। त्यति बेला कसले सोचेको थियो, यही केटाले एकदिन यू–१९ राष्ट्रिय टोलीमा मधेस प्रदेशलाई जिताउनेछ? ४३ बलमा ८७ रनको धुवा उडाउनेछ? क्रिकेट मात्रै होइन, मैदानमै कथा लेख्नेछ।
त्यसपछि यू–१९ एसिया कप, प्रधानमन्त्री कप हुँदै उनी राष्ट्रिय टिमको ड्रेसिङ रुमसम्म पुगे। त्यो यात्रा सजिलो थिएन। तर त्यो भन्दा कठिन यात्रा भयो, जब उनीमाथि स्पट फिक्सिङको आरोप लाग्यो।
प्रतिबन्ध, आरोप र पुनरागमन
२०७९ सालको पुसमा भएको नेपाल टी–२० लिगमा भारतीय कम्पनीको व्यवस्थापनमा खेल चल्दा आदिलमाथि ‘स्पट फिक्सिङ’ को आरोप लाग्यो। लगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गर्यो। राष्ट्रिय टोलीको ढोका बन्द भयो, अभ्यास रोकियो, सपना ओझेलमा पर्यो।
तर काठमाडौं जिल्ला अदालतले २०८० चैतमा आदिलसहित पाँचजनालाई सफाइ दियो। न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भने – आरोप पुष्टि भएन। र, करिब एक वर्षपछि, २०८२ वैशाख २२ गते क्यानको इन्टीग्रिटी समितिले अन्ततः आदिलमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्यो।
अबको गन्तव्यः बलियो पुनरागमन
६ ओडीआई र ८ टी–२० अन्तर्राष्ट्रिय खेलमा अनुभव बटुलेका आदिललाई अब पुनः आफूलाई प्रमाणित गर्ने मौका छ। तर यो पटक उनी ‘सिर्जनशील सट’ को कारण मात्रै होइन, सहनशीलताको प्रतीक पनि बनेका छन्।
सिम्रौनगढको एउटा केटाले हेलिकप्टर सटमार्फत नेपाली क्रिकेटलाई जुन प्रकारले नयाँ ऊर्जा दिएका थिए, त्यही उर्जा अब उनको पुनरागमनको लागि कति निर्णायक हुन्छ, त्यो हेर्न बाँकी नै छ। आदिल भन्छन्, “मैले खेल छाडेको थिइनँ, खेल नै मबाट टाढिएको थियो। अब फेरि साथ पाएको छु। म मैदानमै उत्तर दिनेछु।”
